Need Help ?
Call: +977- 087440116

जिल्लाको बारेमा

कालिकोट जिल्लाको परिचय

 

जिल्लाको परिचय

कालिकोट जिल्ला मध्यपश्चिमाञ्चल विकास क्षेत्रको कर्णाली अञ्चलको पहाडी जिल्लाको रुपमा अवस्थित रहेको छ । यस जिल्लाको कूल क्षेत्रफल १७४१ वर्ग किलोमिटर अर्थात १७८०३० हेक्टर रहेको छ । यो जिल्ला २९ डिग्री ५ मिनेट उत्तरी अक्षांसदेखि २९ डिग्री २८ मिनेट उत्तरी अक्षांससम्म र ८१ डिग्री २८ मिनेट पूर्वी देशान्तरदेखि ८२ डिग्री ०२ मिनेट पूर्वी देशान्तरसम्म पर्दछ ।  २०६८ काे राष्ट्रिय जनगणना अनुसार जिल्लाको  कूल जनसंख्या १३२५९३ र घर परिवार संख्या २११७९ रहेको छ । जसमा महिला ६४६४७ र पुरुषको ६७९४६ देखिन्छ भने औषत परिवार संख्या ६.२६, जनघनत्व ५९ जना प्रति वर्ग किलोमिटर रहेको छ । ३० वटा गाविस रहेको यस जिल्लामा ९ वटा इलाकाहरु छन् भने एक मात्र निर्वाचन क्षेत्र रहेको छ । यस जिल्लाको पूर्वमा जुम्ला, पश्चिममा अछाम, उत्तरमा बाजुरा र मुगु तथा दक्षिणमा दैलेख र जाजरकोट जिल्ला पर्दछन् । जिल्लाको नामाकरणको सन्दर्भमा विभिन्न भनाई भएता पनि कालिकोट जिल्लाको कालिका गाविसको कोट गाउँमा अवस्थित कालिकादेवीको मन्दिर (माडु) बाट नै यस जिल्लाको नाम कालिकोट रहेको जनधारणा रहेको पाइन्छ । समशीतोष्ण हावापानी भएको यस जिल्लामा गर्मी याममा अधिकतम तापक्रम १८.६० डिग्री सम्म र जाडो याममा न्यूनतम तापक्रम ५.६० डिग्री सम्म पुगेको पाइन्छ । यस जिल्लामा औसत ७३० मिली लिटर वार्षिक वर्षा हुने गरेको छ । समुद्री सतहबाट ७३८ मिटरदेखि ४७९० मिटरसम्म उचाई रहेको छ ।

राजनैतिक विभाजन

कालिकोट जिल्लामा ३० वटा गाविस रहेका छन ।  ९ इलाकामा विभाजित यस जिल्लामा एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ ।

शिक्षा

मानवीय मूल्य तथा मान्यतालाई आत्मसात गरी आधुनिक प्रविधिबाट दैनिक कार्य सम्पादन गर्न सक्ने नागरिक तयार गर्नु शिक्षाको मुख्य उदेश्य हो । तसर्थ सबै शैक्षिक प्रक्रियाहरुलाई आम नागरिक तथा बालबालिकाको दैनिक जीवनसँग तादात्म्यता राख्दै स्थानीय ज्ञान तथा आधुनिक ज्ञानको उपयुक्त समायोन गरी स्थानीय, राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खालको जनशक्ति तयार गर्नु पनि गुणस्तरीय तथा उपलब्धीमूलक शिक्षाको मूल उदेश्य हो । यसै उदेश्य अनुरुप यस जिल्लामा पनि शैक्षिक संस्थाहरु संचालन हुदै आएका छन् । खास गरी राष्ट्रिय साक्षरता अभियान, बालविकास केन्द्र,  प्राथमिक, निम्नमाध्यमिक, माध्यमिक, उच्चमाध्यमिक तथा क्याम्पस तहसम्मको पठन पाठन कालिकोट जिल्लामा हुने गरेको छ । यस जिल्लामा ५ वटा क्याम्पस, २४ वटा उच्च माध्यमिक विद्यालय, ५२ वटा सामुदायिक माध्यमिक विद्यालय र एउटा संस्थागत माध्यमिक विद्यालय १०७, निम्न माध्यमिक विद्यालय २८८, प्राथमिक विद्यालय र २१५ बाल विकास केन्द्रहरु संचालन भईरहेका छन् । कालिकोट जिल्लाको साक्षरता ६१.२७ प्रतिशत रहेको छ । जसमा पुरुषको साक्षरता ७३.३७ प्रतिशत र महिलाको साक्षरता ५१.१५ प्रतिशत रहेको छ ।

जि.शि.का. को गठन

मुलुकको शैक्षिक क्षेत्र द्रुततर रुपमा विकसित र विस्तारित भैरहेको परिप्रेक्षमा शिक्षा मन्त्रालय शिक्षा विभागबाट सञ्चालित शैक्षिक नीति, योजना र कार्यक्रमहरुलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्ने निकायको रुपमा जिल्ला शिक्षा कार्यालयको स्थापना भएको हो। शिक्षा मन्त्रालय शिक्षा विभागबाट स्वीकृत गरिएका वार्षिक कार्यक्रमहरु कार्यान्वयन, जिल्लास्थित विद्यालयहरुको नियमन, सुपरिवेक्षण, जिल्लास्थित शैक्षिक कार्यक्रमहरुको समन्वय तथा शैक्षिक सुनिश्चितताका लागि जिल्ला शिक्षा कार्यालयको महत्वपूर्ण भूमिका रहन्छ।

परिकल्पना

गुणस्तरीय र जीवनोपयोगी शिक्षाको माध्यमद्धारा शिक्षित, सुसंस्कृत, सम्पन्न र गतिशील समाजको स्थापना र विकास गर्न सघाउ पुर्‍याउन गुणस्तरीय शिक्षाको विकास र विस्तार गर्ने।

लक्ष्य

शिक्षा विकासको संवाहक र मेरुदण्ड भएकोले सबैलाई गुणस्तरीय आधारभूत शिक्षा उपलब्ध गराउने तथा सो भन्दा अगाडिको विद्यालय स्तरीय शैक्षिक अवसरलाई सहज बनाउने।

उद्देश्य

·         आधारभूत तथा माध्यमिक शिक्षा विकास र विस्तार सम्बन्धमा संचालित विभिन्न कायर्यक्रमहरु कार्यान्वयनमा सहजीकरण गर्ने,

·         जिल्लाको समग्र शैक्षिक विकासका लागि औपचारिक तथा अनौपचारिक शिक्षाको विकास र कार्यान्वयन गर्ने,

·         जिल्लास्थित शैक्षिक कर्मचारीहरुको व्यवस्थापन गर्ने,

·         जिल्लास्थित विद्यालयहरुबाट गुणस्तरीय शिक्षा सुनिश्चितताका लागि विद्यालय अनुगमन, निरीक्षण गर्ने,

·         शिक्षा मन्त्रालय शिक्षा विभाग र क्षेत्रीय शिक्षा निर्देशनालयबाट तय हुने नीति तथा निर्देशनहरुको प्रभावकारी कार्यान्वयन गर्ने।

प्रमुख कार्यहरु

·         सरकारको शैक्षिक नीति तथा योजनाको आधारमा जिल्लामा विभिन्न शैक्षिक विकास कार्यक्रमहरु तयार गरी कार्यान्वयन गर्ने गराउने,

·         विद्यालय र स्रोतकेन्द्रहरुको सुपरीवेक्षण गरी विद्यार्थी, शिक्षक,प्रधानाध्यापक र स्रोतव्यक्तिलाई पृष्ठपोषण दिने,

·         जिल्लाको शैक्षिक प्रगतिको अनुगमन तथा मूल्यांकन गर्ने,

·         शिक्षकहरुको नियुक्ति, पदस्थापना र सरुवा सम्बन्धी कार्य गर्ने र अभिलेख राख्ने,

·         विद्यालय, शिक्षक लगायत शैक्षिक तथ्यांकहरुको वार्षिक र आवधिक प्रतिवेदन तयार गर्ने,

·         आवश्यकता अनुसार नया विद्यालयको स्थापना र विद्यमान विद्यालयहरुको सुदृढीकरण गर्ने,

·         विद्यालयस्तरीय अतिरिक्त क्रियाकलाप सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने,

·         विद्यालयमा विद्यार्थीहरुको पहुँच तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि कार्यक्रम सञ्चालन गर्ने,

·         जिल्लास्तरीय तथा एस्.एल्.सी. परीक्षा सञ्चालन गर्ने,

·         शैक्षिक सूचना संकलन, विश्लेषण, प्रकाशन र प्रवोधिकरण गर्ने,

·         सरोकारवालाहरुको क्षमता अभिवृद्धिका लागि कार्यक्रम सञ्चालन गर्ने,

·         शैक्षिक कार्यक्रम सञ्चालनका लागि सरकारी निकाय, गैसस तथा अन्य संघसंस्थाहरुसँग समन्वय गर्ने,

·         केन्द्रीय तथा क्षेत्रीय निकायहरुबाट तोकिएका कार्यहरु सम्पादन गर्ने।